Contact for advertisement

9801063214

कुखुराको मासुमा बिचौलिया हटाउन ह्याचरी संघले सहकारीबाट बेच्ने, ग्राहकलाई कुखुरा सस्तोमा

  • 12/16/2019

कुखुराको मासुमा बिचौलिया हटाउन ह्याचरी संघले सहकारीबाट बेच्ने, ग्राहकलाई कुखुरा सस्तोमा

अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री गरिने भएको छ। बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक सहकारीले बिक्री केन्द्र खोलेर बेच्न लागेको हो।      
नेपाल ह्याचरी उद्योग संघको केन्द्रीय समितिको पहलमा पहिलो चरणमा चितवनमा मासु प्रशोधन र बिक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो। ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी काम अगाडि बढाइसकेको छ। 

संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ह्याचरीका सञ्चालक, कृषक, कुखुरा व्यवसायीलगायत सदस्य रहेको सहकारी स्थापना गरी त्यसैमार्फत बिक्री गर्न लागिएको हो। जिल्लामा १० कट्ठा जग्गा खरीद वा भाडामा लिएर मासु प्रसोधन केन्द्र स्थापना गरिने छ। त्यहाँ ठूलो चिस्यान केन्द्र तयार गरिने छ।     
यससँगै भरतपुर र रत्ननगर क्षेत्रमा तयारी मासु र त्यसबाट बन्ने परिकार बिक्री गरिने छ। “यसको प्रभाव हेरेर देशैभर सहकारीमार्फत बिक्री केन्द्र स्थापना गरिने छ” उनले भने।     

समितिले सहकारी दर्ता र मासु प्रशोधन केन्द्रका लागि जग्गा खोज्ने काम गरिरहेको जनाएको छ। सहकारीमार्फत खोलिने केन्द्रबाट न्यूनतम नाफा राखेर सस्तो र गुणस्तरीय मासु एवं परिकार उपभोक्तालाई दिने जनाइएको छ।     

हाल कृषकले जिउँदो कुखुराको मूल्य कम पाएको भए पनि उपभोक्ताले खरीद गर्दा महँगो मूल्य तिर्न बाध्य हुनुपरेको छ। ह्याचरी उद्योगी, ब्रोइलर पाल्ने कृषक र उपभोक्ता सधैँ मर्कामा परेको एवं व्यवसाय धराशायी हुँदै गएपछि आफ्नै प्रशोधन र बिक्री केन्द्र खोल्न ह्याचरी उद्योगी र कृषक अघि बढेका हुन्।     

चल्लाको लागत मूल्य पाउन नसके पछि देशैभरका ह्याचरी उद्योगले आइतबारबाट दश दिनसम्म चल्ला उत्पादन बन्द गरेका छन्। हाल चल्लाको बजार मूल्य ३० रुपैयाँ रहेको छ। यसको लागत मूल्य ५५ रुपैयाँ पर्ने व्यवसायी बताउँछन्। 

 

Source: Bizmandu.com


वर्ग