Contact for advertisement

9801063214

एकैचोटी मरे केशरबहादुरले पालेका ६ सय कुखुरा, पानीमा विष हालिदिएको आशंका

  • 04/15/2022

दाङको तुलसीपुरमा एक जना किसानले पालेका झन्डै ६ सय बोइलर कुखुरा एकैसाथ मरेका छन्।

तुलसीपुर उपमहानगरपालिका-९ कट्कुँइयाका केशरबहादुर वलीले सल्ली वनमा पालेका ६ सय कुखुरा चैत ३० गते दिउँसो एकै साथ मरेका हुन्।

पीडित वलीले पानी ट्यांकीमा कसैले विषादी हालिदिएका कारण आफ्ना कुखुरा एकै साथ मरेको आशंका व्यक्त गरे।

उनले फार्मनजिकै पानी ट्यांकी निर्माण गरेको र त्यसैमा कसैले विषादी हालिदिएको हुन सक्ने बताए।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा वैशाख १ गते वलीले त्यही आसयको निवेदन दिँदै घटना छानबिन गरी दोषीको पहिचान गरी आवश्यक कारबाहीको माग गरेका छन्।

‘मैले ३० गते बिहान ११ बजे कुखुराका लागि पानी परिवर्तन गरेको थिएँ,’ वलीले भने, ‘त्यसको दुई घन्टा नबित्दै एक पछि अर्को गर्दै सबै कुखुरा मरे।’

दुईदेखि साढे दुई किलोसम्मका ६ सय कुखुरा एकै साथ मरेपछि झन्डै चार लाख रुपैयाँ क्षति भएको वलीले बताए। यतिखेर तुलसीपुरमा बोइलर कुखुराको मासु प्रतिकिलो चार सय रूपैया रुपैंया पर्छ। 

कुखुरा मरेपछि वलीले उक्त ट्यांकीको पानी बोत्तलमा राखेर परीक्षण गराउन भन्दै तुलसीपुर ल्याएको भए पनि परीक्षण गर्ने ल्याब काठमाडौंमा मात्रै रहेको थाहा पाएपछि फर्केर गएको बताए।

‘म तुलसीपुर खानेपानीको कार्यालयमा बोत्तलमा पानी लगेर पुगेको थिएँ,’ वलीले भने, ‘पानीका विषादी मिसाएको परीक्षण गर्ने ल्याब छैन भनेपछि फर्केर आएँ।’

खानेपानीका पदाधिकारीले त्यही बोत्तलको पानी फेरि अरू केही कुखुरामाथि पनि परीक्षण गर्न दिएको सुझावअनुसार वलीले आफ्नै अर्को फार्मका थप दुई वटा कुखुरालाई समेत उक्त पानी दिएका थिए।

ती दुई वटा कुखुरा पनि त्यो पानी पिएको डेढ घन्टाभित्रै मरेपछि त्यसमा बिषादी मिसाइएको रहेछ भन्ने निष्कर्षमा आफू पुगेको वलीले बताए।

वलीको एउटा फार्मका ६ सय कुखुरा मरे पनि त्यसको नजिकै उनकै करिब दुई सय जति कुखुराको अर्को फार्म पनि छ।

‘कुखुरालाई दिने पानीका लागि मैले बाहिरै ट्यांकी बनाएको छु,’ वलीले भने ‘कसैले रिसइबी साँध्न त्यसमै विषादी मिसाइदिएको हुन सक्छ।’

गाउँका कसैमाथि पनि आफूले आशंका गर्न नमिल्ने उनले बताए।

‘प्रहरीले अनुसन्धान गरी त्यो कुरा पत्ता लगाओस् भन्ने मेरो चाहाना हो,’ उनले भने, ‘हाम्रो लागि गाउँ घरका मानिस सबै बराबर हुन।’

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले वलीको निवेदनका आधारमा घटनाबारे अनुसन्धान सुरू गरिएको जानकारी दिए।

 

News Source: www.setopati.com


वर्ग